जेठ ७ गते सम्मकोलागि कास्कीमा फेरि लकडाउन लम्बियो

nised

बैशाख ३०, पोखरा,

जिल्ला प्रशासन कार्यालय कास्कीले जेष्ठ सात गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यसअघि बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकलाई रोक लगाइएको छ ।

यस्तै अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, पशुपंक्षीका दाना बोकेका सवारी साधन, विद्युत्, दूरसञ्चार, सञ्चारकर्मीका सवारी साधन, फोहरमैला व्यवस्थापन, चिकित्सकका जाने आउने सवारी साधन, स्वास्थ्य सेवाका सामग्री बोकेका साधन र आफै उपस्थित भएर गर्नुपर्ने मृत्यु संस्कारका कार्य भने गर्न पाइने छ ।

कुनै पनि प्रकारका सभा, गोष्ठी लगायत मानिसको भिडभाड हुने काम र स्थानहरुमा रोक लगाईएको छ ।

स्वाथ्य संस्था तथा औषधि पसल २४ घण्टा खोल्न पाइने छ भने खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु (माछामासु, फलफूल, तरकारी, खाद्यान्न) लगायतका व्यवसायीक प्रतिष्ठान विहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ ।

अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र भौतिक दूरी कायम गर्नुपर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुनअनुसार कारवाही हुने जनाइएको छ ।