मौद्रिक नीति सार्वजनिक : कोरोना प्रभावित व्यवसायलाई विभिन्न राहतको व्यवस्था

Mahaprasad-Adhikari

साउन २९, कास्की,

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ ।

यस्तै कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मत–सम्भारका लागि थप दुई लाख रुपैयाँसम्मको ऋण दिने व्यवस्था गरिएको छ ।
यसैबिच नेपाल राष्ट्र बैंकले कोभिड अतिप्रभावित क्षेत्रेको कर्जाको पेनाल ब्याज नलाग्ने व्यवस्था गराएको छ । राष्ट्र बैंकले कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवा लगायतका बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायी ऋणीलाई ब्याज नलाग्ने व्यवस्था गर्ने जनाएको हो ।

अन्तर्राष्ट्रिय भ्रमण सहज भई यथेष्ठ रूपमा पर्यटकको आगमन हुने अवस्था नदेखिएकाले त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने व्यवस्था गर्ने भनिएको छ । यस्तो रकममा थप हर्जाना र पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाइने पनि केन्द्रीय बैंकले जनाएको छ ।

कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेस्टुरेन्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तीमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिने भएको छ । यो व्यवस्था कोभिड–१९ महामारीका कारण नगद प्रवाह अबरुद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागु हुने गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो ।

कोभिड–१९ बाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्ममा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा भनिएको छ ।