२०८ औं भानु जयन्तीको अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानद्धारा ‘धुनमा कविता’ कार्यक्रम सम्पन्न

bhanu jayenti 3

असार २९, कास्की,

आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्म जयन्तीका अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘धुनमा कविता’ कार्यक्रम गरेको छ ।

मंगलबार पोखराको बगर स्थित शिक्षा विकास निर्देशनालयको सभाहलमा भएको कार्यक्रमको उद्घाटन गर्दै कवि तीर्थ श्रेष्ठले आदिकवि भानुभक्तले आफ्ना सिर्जनाबाट नेपाली भाषाको एकिकरणमा अतुलनीय योगदान दिएको उल्लेख गर्दै नेपाली भाषासाहित्यको महत्वलाई हामी आँफैले बुझ्न नसकेको बताउनुभयो ।

त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यखड्का बिखर्चीले २०८ औं भानुजयन्तीका अवसरमा आयोजित धुनमा कविता प्रतिष्ठानको पहिलो कार्यक्रम भएको जनाउँदै आगामी दिनमा प्रदेशका वाङमयिक क्षेत्रको विकास र हितका निम्ती सबै सँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।

विभिन्न जिल्लाका साहित्यकार, चलचित्रकर्मी, संगीतकर्मी, कलाकर्मी र प्रतिष्ठानका प्राज्ञ सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका १२ जना कविले कविता वाचन गरेका थिए ।

सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा ठूलो योगदान छ । भानुभक्तको जन्म वि.सं.१८७१ असार २९ गते पिता धनञ्जय र माता धर्मावतीदेवीको कोखबाट तनहुँमा भएको थियो भने उहाँको विसं १९२५ असोजमा निधन भएको थियो ।