
जेठ १८, काठमाण्डौ
दुई जना न्यायाधीशले संवैधानिक इजलास छाडेपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आउँदो २३ गतेसम्मका लागि स्थगित भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम हुनेमा ढुक्क हुन नसकिएको भन्दै इजलास छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २३ गतेसम्मका लागि सुनुवाइ स्थगित गर्नुभएको हो ।
मंगलबार(आज)को संवैधानिक इजलासमा आफ्नो राय पेस गर्दै न्यायाधीशद्वय कार्की र भट्टराईले प्रधानन्यायाधीशले आवश्यक ठानेको खण्डमा आफूहरू बस्न तयार रहेको पनि बताएका छन् । यसअघि संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि रिट निवेदक पक्षका वकिलहरूले प्रश्न उठाएका थिए । नेकपा दर्ता बदरसम्बन्धी मुद्दा हेरेकाले उनीहरू इजलासमा बस्न नमिल्ने भन्दै उनीहरूले विरोध गरेपछि रिटको सैद्धान्तिक विषयमै छलफल हुन सकेको थिएन ।
आज पुरानै संवैधानिक इजलास गठन गरेपछि न्यायाधीशहरू कार्की र भट्टराईले आफ्नो रायसहित इजलास छाडेका हुन् । यस्तै न्यायाधीश केसी र श्रेष्ठले पनि इजलासमा छुट्टाछुट्टै राय पेस गर्दै पहिलेको र अहिलेको दुई मुद्दाको कुनै सम्बन्ध नहरेकाले आफूहरू इजलासमा बस्न कुनै बाधा नरहेको उल्लेख गरेका थिए । त्यसपछि २३ गतेसम्मका लागि सुनुवाइ स्थगित गर्दै प्रधानन्यायाधीश जबराले अर्को इजलास गठन गर्ने जानकारी दिनुभएको छ ।