कास्कीमा निषेधाज्ञा एकसाता लम्बियो : खाद्यान्न तथा तरकारी पसल बिहान १० बजेसम्म खोल्न पाइने

nised

जेठ ३०, पोखरा,

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई अझै एक साताका लागि थप गरेको छ । कोभिड – १९ को सङ्क्रमण फैलावटको रोकथामका लागि जारी निषेधाज्ञा आगामी असार ७ गते सम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा हस्तारिक्षित विज्ञप्तिमा जनाइएको छ ।

प्रशासनका अनुसार पछिल्ला दिनहरुमा संक्रमणदर र मृत्युदर क्रमिक रुपमा घट्दै गएपनि अपेक्षाकृत नियन्त्रण आइनसकेको तथ्याङ्कको आधारमा सर्वसाधारणको दैनिक जीवनयापनमा सहजता ल्याउने गरी केही परिमार्जन गरिएको हो ।

जस अनुसार हाल बिहान नौ बजेसम्म खाद्यान्न तथा तरकारी पसलहरु खोल्न अनुमति दिइएकोमा अब बिहान १० बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै विकास निर्माणजन्य सामग्रीका पसलहरु साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने भएको छ । यातायातको हकमा अत्यावश्यक वाहेक अन्य सम्पूर्ण सवारिसाधनलाई पूर्ववत रुपमानै रोक लगाईने विज्ञप्तिमा जनाईएको छ ।