आज नेप्से ५३ अङ्कले बढ्यो, लहैलहैमा शेयर बजारमा लगानी नगर्न नेपाल धितोपत्र बोर्डको आग्रह

Share_nepse_market

जेठ २५, पोखरा,

शेयर बजारमा उछाल आउने क्रम मङ्गलवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ४४ अङ्कले बढेर २९ सय ६० दशमलव १४ विन्दुमा पुगेको छ ।

आज होटल, माइक्रोफाइनान्स र लगानीबाहेक सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको शेयर तीन सय ९८ अङ्कले, फाइनान्सको एक सय ८५ अङ्कले, बैंकिङ समूहको शेयर २०, व्यापारको १९, जलविद्युतको ५८, जीवन बीमाको ६ सय ६९, निर्जीवन बीमाको पाँच सय ५४, उत्पादनको एक सय २९ र अन्य समूहको शेयर ४५ अङ्कले बढेको छ ।

आज दुई सय १७ कम्पनीका तीन करोड ५७ लाख कित्ता शेयर १६ अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ ।
यसैबिच
नेपाल धितोपत्र बोर्डले लहैलहैमा शेयर बजारमा लगानी नगर्न सचेत गराएको छ । बोर्डले एक सूचना निकालेर बजारको सिद्धान्तअनुसार बजार घटबढ हुने हुँदा लगानीकर्ताले जोखिमलाई पनि ध्यानमा राखेर जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न बोर्डले आग्रह गरेको छ ।

अहिले शेयर बजारको ९० प्रतिशत कारोबार अनलाइनमार्फत भइरहेको जानकारी दिँदै धितोपत्र बोर्डले प्रविधिको सही सदुपयोग गर्न पनि सचेत गराएको छ । बोर्डले लगानीकर्तालाई देशको आर्थिक अवस्था, प्रति–शेयर आम्दानी, प्रति–शेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात, संस्थागत सुशासनको अवस्था समेतलाई ध्यानमा राख्न सचेत गराएको छ ।