अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको ५० लाख खोप दिन लागेको भन्ने सुचना नै गलत

vaccine

जेठ २२, एजेन्सी,


अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रशासनले बिहीबार २५ मिलियन अर्थात अढाइ करोड डोज कोरोनाभाइरस भ्याक्सिन विभिन्न देशहरुलाई बाँड्ने घोषणा गर्यो । यो घोषणालगत्तै नेपालले कति खोप पाउन लागेको हो भन्ने विषयमा चर्चा बढ्यो । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले अमेरिकालाई धन्यवाद दिए । केही समयअघि मात्रै नेपालले अमेरिकालाई खोप उपलब्ध गराउन आग्रह गरेको थियो । नेपालको आग्रह सुनिदिएको भन्दै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले अमेरिकाप्रति आभार व्यक्त गरे ।

यही बीचमा राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले ट्वीट गर्दै अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको दावी गरे । लगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि ट्वीट गर्दै अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको बताए । वास्तवमा यी दावी गलत थिए तर यिनै ट्वीटलाई आधार बनाएर कैयौं मिडियामा समाचार पनि आए । सामाजिक संजालमा प्रयोगकर्ताले अमेरिकाले नेपाललाई ५० लाख खोप दिन लागेको पुष्टि गर्ने आधार प्रमाण खोजेपछि भने ढकाल र थापा दुवैले ट्वीट डिलिट गरे ।

राष्ट्रप्रमुख र सरकार प्रमुखको सचिवालयका अधिकारीले यसरी पहिले सूचना सार्वजनिक गर्ने र पछि हटाउने गरेपछि यो विषयमा चासो बढेको छ । खासमा अमेरिकाले नेपाललाई कति खोप दिन लागेको हो भन्ने विषयमा धेरैमा जिज्ञासा उत्पन्न भएको छ । वास्तवमा अमेरिकाले बिहीबार विभिन्न देशलाई खोप दिने घोषणा गरेको भए पनि कुन देशलाई कति दिने भन्ने विवरण खुलाएको छैन । ह्वाइट हाउसले आफ्नो वेबसाइटमा पहिलो चरणमा दिइने २५ मिलियन डोज कसरी वितरण गर्ने भन्नेबारे जानकारी प्रकाशित गरेको छ ।

खासमा बाइडेन प्रशासनले जून महिनाको अन्त्यसम्म ८० मिलियन अर्थात ८ करोड डोज वितरण गर्नेछ । यसैमध्येको २५ मिलियन डोज अहिले वितरण गर्न लागेको हो । अमेरिकाले पहिले नै २० मिलियन डोज वितरण गर्ने घोषणा गरिसकेकोमा राष्ट्रपति बाइडेनले मे १७ का दिन थप ६० मिलियन डोन वितरण गर्ने घोषणा गरेका थिए । यसरी अमेरिकाले कूल ८० मिलियन डोज वितरण गर्ने घोषणा गरिसकेको छ । यसैमध्ये पहिलो चरणमा अहिले २५ मिलियन डोज वितरण गर्न लागिएको हो ।

सुरुवाती चरणको २५ मिलियन डोजमध्ये झण्डै १९ मिलियन डोज कोभ्याक्स परियोजना अन्तर्गत वितरण गरिनेछ । यसरी वितरण गर्दा करिब ६ मिलियन डोज दक्षिण र मध्य अमेरिकामा वितरण गरिनेछ । ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, कोस्टारिका, पेरु, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरास, पनामा, हाइटीसहित क्यारेबियन देश र डोमिनिकल गणतन्त्रले यो ६ मिलियन डोजमध्येबाट बाँडेर भ्याक्सिन पाउनेछन् ।

एसियालाई ७ मिलियन डोज दिइनेछ । नेपालले पाउने खोप यही ७ मिलियन मध्येबाट हो । यो ७ मिलियन डोज नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुआ न्यू गिनी ताइवान र अन्य प्रशान्त महासागरका टापु देशहरुलाई बाँडिनेछ । अफ्रिकाको लागि ५ मिलियन डोज छुट्याइएको छ । अफ्रिकाको लागि यो भ्याक्सिन अफ्रिकन युनियनसँगको सहकार्यमा वितरण गरिनेछ ।

करिब ६ मिलियन डोन क्षेत्रीय प्राथमिकतामा परेका र अमेरिकाका साझेदार देशहरुलाई दिइनेछ । यी देशहरुमा मेक्सिको, क्यानडा, दक्षिण कोरिया, वेस्ट ब्यांक र गाजा, युक्रेन, कोसोभो, हाइटी, जर्जिया, इजिप्ट, जोर्डन, भारत, इराक यमनसहित संयुक्त राष्ट्रसंघका फ्रन्टलाइन कर्मचारी र स्वयंसेवकहरुलाई दिइनेछ ।