आजदेखि विश्व स्तनपान सप्ताह सुरु

stanpan

साउन १७, काठमाण्डौ,

विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यसवर्ष ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ ।

शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा हरेक वर्ष अगस्ट एक तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् ।

सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोसिलो र स्वस्थकर हुन्छ । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउन डाक्टरको सुझाव छ ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा झण्डै ३५ प्रतिशत शिशुले मात्र पर्याप्त मात्रामा स्तनपान गर्न पाउँछन् । डाक्टरका अनुसार शिशुलाई ६ महिनासम्म निरन्तर र २ वर्षसम्म आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुन्छ अनि बच्चा स्वस्थ बन्छ ।

पछिल्ला वर्ष शारीरिक सौन्दर्य बिग्रने डरले शिशुलाई स्तनपान नगराइ वैकल्पिक पदार्थ खुवाउने क्रम बढ्दो छ । तर यसरी वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढिरहेको बालरोग विशेषज्ञले बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको रोक तथा नियन्त्रणमा जोड दिएको छ । सरकारले नवजात शिशु, मातृ शिशु स्वास्थ्य, प्रचुर मात्रामा स्तनपानलाई प्रोत्साहन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुमा प्रतिबन्ध लगाउने कानुन बनाए पनि कार्यान्वयन हुन सकेको छैन ।