केन्द्रमा सरकार बनाउन दाबी गर्ने कांग्रेसको निर्णय

Prakash Mahat

बैशाख २८, काठमाण्डौ,

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले सरकार बनाउन दाबी गर्ने निर्णय गरेको हो ।

माओवदी केन्द्र र जसपाको सहयोगमा सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय भएको सहमहामन्त्री प्रकाशशरण महतले बताउनुभयो । ’राष्ट्रपतिले ७६ (२) अनुसार सरकार बनाउनका लागि समय दिनुभएको छ’, महतले भन्नुभयो, ’त्यसको स्वभाविक रुपमा प्रधानमन्त्री विश्वासको मत लिन असफल भएपछि कांग्रेस, माओवदी केन्द्र र जसपाको सहयोगमा हामी दाबी गर्छौं र आवश्यक समर्थन जुटाउनका लागि पार्टी सम्पूर्ण रुपमा लाग्छ ।’

उहाले सिंगो जसपा आफूहरूको पक्षमा आउन सक्ने पनि बताउनुभएको छ । ’पर्सिसम्म समय बाँकी छ । त्यतिञ्जेलसम्म परिस्थिति परिवर्तन हुन्छ । जसपा पनि हाम्रो पक्षमा आउने सम्भावना छ । माओवादी केन्द्र हाम्रै पक्षमा छ’, उहाले भन्नुभएको छ ।
उहाले तीन दल एक ठाउँमा नआए एमालेको माधवकुमार नेपाल पक्षसँग पनि छलफल गरेर अघि बढ्ने बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखभित्र बहुमतको सरकार गठनका लागि दाबी गर्न दलहरूलाई आह्वान गर्नुभएको थियो ।