कांग्रेस सभापति देउवा निवासमा पदाधिकारी बैठक बस्दै

dewa niwas

बैशाख ३०, काठमाण्डौ,

नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीवार (आज) बस्दैछ । दिउँसो चार बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकमा बहुमतको सरकार दाबी गर्ने विषयमा भइरहेको उपलब्धि र आउँदा रणनीतिको बारेमा छलफल हुनेछ ।

बहुमतको सरकारको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय सीमा आज राति नौ बजे सकिँदैछ । तर अहिलेसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रले बहुमत जुटाउन सकेका छैनन् ।

आजै दिउँसो सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग भेटवार्ता गर्नुभएको छ । बहुमतको सरकारका लागि जसपाको ठाकुर पक्षले साथ नदिने बताइरहेको बेला भएको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।

नयाँ सरकार गठनका लागि देउवाले एमालेको माधव नेपाल पक्षका सांसदको राजीनामाको अपेक्षा गरे पनि एमालेले माधव नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेपछि गठबन्धन सरकार बनाउन कांग्रेसलाई थप हम्मे–हम्मे परेको छ ।