टोकियो ओलम्पिकमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा

TO-Opening2-1-scaled

साउन १३, कास्की,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकको पदक तालिकामा जापान शीर्ष स्थानमै कायम रहेको छ । अमेरिका र चीनलाई पछि पार्दै जापान शीर्ष स्थानमा पुगेको हो ।

जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित कूल १८ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य हात पारेको छ । यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसिया पदक तालिकाको चौथो स्थानमा छ ।

यसैगरी चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ बेलायत पाँचौं स्थानमा रहँदा तीन स्वर्ण, दुई रजत र पाँच कास्यसहित दक्षिण कोरिया छैटौं स्थानमा रहेको छ । अस्टे«लिया तीन स्वर्ण, एक रजत र पाँच कास्यका साथ सातौं तथा क्यानडा दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक जित्दै आठौं स्थानमा रहेको छ ।

दुई स्वर्ण, दुई रजत र तीन कास्यका साथ फ्रान्स नवौं तथा जर्मनी दुई स्वर्ण र तीन कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेका छन् । ओलम्पिकमा सहभागमध्ये हालसम्म ५६ देशले पदक प्राप्त गरेका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी सहभागी भएकामध्ये तीन जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब नेपालबाट सहभागी पौडीकी गौरिका सिंह र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।