ओली फेरि पनि प्रधानमन्त्री नियुक्त हुने पक्कापक्कि

kp rudai

बैशाख ३०, पोखरा

संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठन गर्ने प्रयास गरेका विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको सम्भावना टरेको निष्कर्ष निकालेका छन् ।

बिहीबार आज अपरान्ह बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक र सोही समयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वैकल्पिक सरकार गठनको सम्भावना टरेको निष्कर्ष निकालेको हो ।

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोलाई नयाँ सरकार गठनको लागि मनाउने प्रयास विफल भएको ब्रिफिङ गर्नुभएको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभये ।

यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको सम्भावना टरेको जानकारी गराउनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

नयाँ सरकार गठनको लागि कांग्रेस र माओवादी केन्द्रले जसपाको ठाकुर–महतो पक्षलाई मनाउने प्रयास गरेका थिए । तर, उक्त प्रयास असफल भएपछि नेकपा एमालेको माधव नेपाल पक्षले भूमिका खेल्ने अपेक्षा गरेका थिए ।

तर, दुवै विकल्प अन्त्य भएपछि बहुमतको सरकार गठनको सम्भावना सकिएको हो । बहुमतको सरकार गठनको सम्भावना सकिएपछि अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले पुनः केपी ओली नै प्रधानमन्त्रीमा नियुक्त हुने बाटो खुलेको छ ।