आज माता तिर्थ औँसि आमाको मुख हेर्ने दिन

aama

बैशाख २८, कास्की,

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मनाउने परम्परा रहेको छ ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिन्छ ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।