प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि ’एमीकस क्युरी’ झिकाउन सर्वोच्चको आदेश

sarbochha

जेठ २६, काठमाण्डौ,

सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउन आदेश गरेको छ । संवैधानिक इजलासले एमिसक क्युरीका रूपमा नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बारबाट दुई÷दुई जना वरिष्ठ अधिवक्तालाई झिकाउन आदेश गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो ।

यसअघि गएको पुस ५ गतेको प्रतिनिधि सभा विघटन मुद्दामा ५ सदस्यीय एमीकस क्युरी गठन गरिएको थियो ।

बुधवारको सुनुवाइपछि सर्वोच्चले सरकारसँग प्रतिनिधि सभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रतिनिधि सभा विघटनका विषयमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग सर्वोच्चले लिखित जवाफ मागेको हो ।

विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । यस्तै सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय निर्धारण गरेको छ ।