
जेठ ४, एजेन्सी,
अरब सागरमा आएको चक्रवात आँधीका कारण मुम्बईको समुद्र तट नजिक एक सानो पानि जहाज ’पी ३०५’ डुब्दा करिब १०० जना मानिस अझै पनि हराइरहेका छन् ।
भारतीय जलसेनाले जहाजमा यात्रा गरिरहेका दुई सय ७० जनामध्ये एक सय ७७ जनाको उद्धार गरिएको र बाँकी मानिसको खोजी भइरहेको जनाएको छ । त्यस्तै झन्डै सात सय जना रहेका तीन अन्य व्यापारिक जहाज अरब सागरमा नै रोकिएको बीबीसी हिन्दीले जनाएको छ ।
यस्तै तटरक्षक बलको चेतक हेलिकप्टरले ग्याल कन्स्ट्रक्टर जहाजको चालक दलका सबै एक सय ३७ जनाको उद्धार गरेको छ । अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतमा १६ जनाको ज्यान गएको छ । एक लाख ५० हजार जना विस्थापित भएका छन् । केरला, कर्नाटक, गोवा, महाराष्ट्र, गुजरातको जनजीवन प्रभावित भएको छ ।