निर्मला हत्याकाण्ड : ३ वर्ष वित्यो, हत्यारा पत्ता लागेन

nnnn

साउन १२, काठमाण्डौ,

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको हत्याराहरुलाई समात्न, तीन वर्ष वित्दा समेत प्रहरी असफल भएको छ ।

निर्मला बेपत्ता भएको आइतबार तीन वर्ष र मृत फेला परेको सोमबार तीन वर्ष पुराभएको छ पुग्दै छ । तर प्रहरी भने अनुसन्धानका नाममा रुमल्लिएको छ । पन्त प्रकरणको रहस्यको वास्तविकता अझै खुलेको छैन ।

nn

तीन वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका परिवारका सदस्यले न्याय पाउने आस गुमेको बताएका छन् । ‘हत्यामा संग्लन अझै पनि खुलेआम घुमिरहेका छन्,’ उनले भनिन्, ‘दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले चासो नै नदिएकाले हामीले न्याय पाएनौं ।’

तीन वर्षसम्म दोषी पक्राउ नपरेपछि न्याय पाउने आश मरिसकेको बताउँछिन् दुर्गा । ‘बैतडीकी किशोरी भागरथी हत्या प्रकरणमा अनुसन्धान सफल भएपछि कञ्चनपुर प्रहरी प्रमुखको टोली घरमै पुगेको थियो,’ दुर्गाले भनिन्, ‘अब निर्मलाका दोषी पनि कानुनी दायरामा आउँछन् भनिएको थियो । तर अहिले दोषी पक्राउ पर्ने कुनै सुरसार नै देखिदैन । तर दोषीलाई कारबाही गर्ने इच्छाशक्ति प्रहरीमा भए हामीले न्याय पाउँछु भन्ने शत प्रतिशत विश्वास छ ।’

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला हत्या प्रकरणमा अनुसन्धान जारी रहेको बताउनुभएको छ ।

‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त डेडिकेटेड टिमले निर्मला हत्याको घटनामा अनुसन्धान गरिरहेको छ,’ उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले निर्मला हत्या घटनाको अनुसन्धानमा तीन टोली सक्रिय रहेको बताउनुभएको छ ।
‘निर्मला घटनाको अनुसन्धान अहिले पनि प्रहरीको प्राथमिकतामा छ,’ उहाले भन्नुभयो ‘केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।’ निर्मला हत्यामा अहिलेसम्म एक हजारभन्दा बढीसँग सोधपुछ गरिएको उहाँको भनाई छ । झण्डै एक सय जनाको डिएनए परीक्षण गर्दा समेत एउटा पनि म्याच नभएको न्यौपानेले बताउनुभयो ।

यस्तो थियो घटना

साउन १० गते दिउँसोको समयमा साथी रोशनीको घरमा गृहकार्य गर्छु भन्दै गएकी निर्मला घर फर्किनन् । अबेर साँझसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भयो । भोलिपल्ट बिहान भीमदत्त नगरपालिका–१८ र २ को सीमा नजिकैको उखुबारीमा उनी मृत भेटिइन् । शवको प्रकृति र शव परीक्षण रिपोर्टपछि निर्मलाको बलात्कारपछि हत्या देखिएपछि सोहीअनुसार अनुसन्धान थाल्यो ।

भदौँ चार गते २०७५ मा प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । मानसिक अवस्थासमेत ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि वास्तविक हत्यारा बचाउन नक्कली खडा गरेको भन्दै कञ्चनपुर प्रहरीविरुद्ध आन्दोलन चर्कियो ।

आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय सन्नी खुनाको ज्यान गयो भने एक दर्जन बढी घाइते भए। सोही क्रममा दिलीपको डीएनए नमिलेपछि उनी छुटे ।

कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेका जस्ता आरोपमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक ९एसपी० डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट बर्खास्तसमेत भए ।

गृह मन्त्रालयले अनुसन्धानमा खटिएका सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई पनि निलम्बन गरेको थियो । तर पछि उनीहरूले अदालतबाट प्रमाण नष्ट गरेको तथा याचना दिएको मुद्दामा सफाइ पाएपछि अहिले निलम्बन फुकुवा भइसकेको छ ।

निर्मला हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डिआइजी धीरु बस्न्यात नेतृत्वको समितिले घटनाबारे छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका थिए । तर, ती प्रतिवेदनहरू अहिलेसम्म कार्यान्वयन भएका छैनन् ।

  यो समाचार थाहाखबर डटकममा टेकसिंह धामीले लेख्नुभएको हो ।