भेरी अस्पताल घटनामा संलग्नमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता, राष्ट्रपति भण्डारीद्धारा दुव्र्यवहारको विरोध

bheri-hsptl

जेठ १४, कास्की,

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको विरोध गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत् उहाँले भेरी अस्पतालका डाक्टर तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्यक्त गर्नुभएको हो ।

साथै उहाँले आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको उपचारमा संलग्न डाक्टर तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको बताउनुभएको छ ।
यसैबिच
स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध स्वाथ्यकर्मीहरुले किटानी जाहेरी दिएका छन् । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका– ११ मानबहादुर रावत, भरत रावत र लोकराज रावतविरुद्ध किटानी जाहेरी परेको बाँकेका एसपी ओम रानाले बताउनुभयो ।

स्वाथ्यकर्मीहरुले किटानी जाहेरी दिएपछि तीनै जनालाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत बाँके पु¥याएको थियो । अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको एसपी रानाले जानकारी दिनुभयो ।

भेरी अस्पतालमा दाङ तुलसीपुरका एक जना बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका परिवार र आफन्तले उपचारमा लापर्बाही भएको दाबी गर्दै डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । डिउटीमा रहेका डाक्टर चन्द्रप्रकाश साहु, नर्सिङ कर्मचारी सदीक्षा गैरे, अश्विनी गुरुङ, रीता अधिकारी र कविता पुनलाई लखेटेर हातपात र कुटपिट गरेको अस्पतालले जनाएको छ ।
घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।