कास्कीका २३१ सहित देशभर थप ३ हजार ४ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि : गण्डकीका १० सहित ३५ जनाको मृत्यु

corona

साउन ३२, कास्की,

सोमबार गण्डकी प्रदेशका थप ६ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३ सय ३९ जनामा गरिएको नमुना परीक्षणमा थप ६ सय ५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका २ सय ३१ जना सहित, गोरखाका १ सय ६१ जना, बागलुङका ९० जना, नवलपुरका ८२ जना, स्याङ्गजाका ५१ जना, लमजुङ र म्याग्दीका चौधचौध जना, त्यस्तै पर्वतका ७ र तनहुँका ६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६ सय १६ जना कोरोना संक्रमणमुक्त भएसँगै प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ७० पुगेको छ ।

यस्तै सोमबार गण्डकीमा थप १० जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ६ जना सहित स्याङ्गजाका दुई तथा नवलपुर र तनहुँका एकएक जना रहेका छन् ।
यसैबिच
देशभर थप ३ हजार ४ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा २२ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै यही अवधिमा कोरोनाका कारण थप ३५ जनाको ज्यान गएको छ । अहिले नेपालमा ३९ हजार तीन सय ७१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९५ जनाको आईसीयू र एक सय ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले बताएको छ ।