आज रातिदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य : सरकार आँफै नाङ्गिन थालेको एमालेको प्रतिक्रिया

federal_parliament nepal

साउन ३२, काठमाण्डौ,

आज (सोमवार) रातिदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा पठाउनुभएको पत्र वाचन गर्दै भन्नुभयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७८÷४÷३२ को सिफारिसमा सङ्घीय संसद् दुवै सदनको चालु अधिवेशन २०७८ साल साउन ३२ गते सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि साउनको ३ गते अधिवेशन सुरु भएको थियो ।
यसैबिच
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अधिवेशन अन्त्य गरेर सरकार आफैं नांगिने बाटोमा लागेको बताउनुभएको छ । चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयका विषयमा प्रतिक्रिया दिँदै उहाले प्रतिपक्षमा हुँदा संसदलाई बिजनेश नदिइएको भन्दै आलोचना गर्ने सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले महिना दिन पनि संसद् टिकाउन नसकेको बताउनुभयो ।

संसद् नहुँदा लोकतन्त्र र गणतन्त्रसमेत मासिने भनेर टिप्पणी गर्ने सरकारले पुनःस्थापना भएको एक महिनामै संसद् अन्त्य गर्नुलाई सामान्य रुपमा लिन नसकिने उहाको भनाइ छ ।