
असार ५, पोखरा,
गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले दलहरुबिच मन्त्रालयको भागबण्डाको टुङ्गो लगाएको छ ।
मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले ४÷४ तथा जनता समाजवादीले दुई मन्त्रालय पाउने टुङ्गो लागेको हो भने स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)ले यसअघि नै मन्त्रीको सपथ लिइसक्नुभएको छ ।
कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसक्नुभएको छ भने अब थप दुई जना मन्त्री थपिनेछन् । तर कांग्रेसभित्र मन्त्रीको आकांक्षी भने दर्जन बढी सांसद रहेका छन् ।
सत्ता गठबन्धनको अर्को हिस्सेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी (गुरुङ) मन्त्री बनिसक्नुभएको छ, अब तीन मन्त्री थपिनेछन् । सभामुख नेत्रनाथ अधिकारी र मन्त्रीको सपथ लिनुभएकी गुरुङ बाहेक अन्य १० सांसदले नै मन्त्रीको दाबी गरेका छन् ।
गठबन्धनको अर्को दल जसपाका दुई सांसद नै मन्त्री बन्ने भएका छन् । हरिशरण आचार्य उक्त दलबाट मन्त्री बनिसक्नुभएको छ । जसपाकै सांसद धनमाया पोखरेल (लामा)ले पनि मन्त्री पद पाउनुहुने निश्चित भएको हो ।
भागबन्डामा संख्याको टुङ्गो लागे पनि कुन दललाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निर्णय हुन नसकेको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जानकारी दिनुभयो । केहि दिनमै पुनः छलफल गरि सबै मन्त्रालयको टुङ्गो लगाईने उहाँले बताउनुभयो ।