प्रहरीले नै चोरे शान्ति मिसनको प्रश्नपत्र

nepal-policevv

साउन २६, काठमाण्डौ,

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्व छनौट प्रि–स्याट परीक्षा रद्द भएको छ ।

यूएन शाखाबाट प्रश्नपत्र बाहिरिएपछि नेपाल प्रहरीले छानबिन अघि बढाउँदै परीक्षा रद्द गरेर अर्को परीक्षा लिने निर्णय भएको हो । यूएन शाखाकै परिचर सुरेश बमले प्रश्नपत्र चोरेको खुलासा भएको छ ।

साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई तिर्नुपर्ने एक लाख मिनाहा गरिदिने शर्तमा परिचर बमले प्रश्नपत्र शाहलाई दिएको र शाहले डिएसपी रुपेश खड्कालाई घरमै लगिदिएको खुलासा भएको छ ।

यूएन शाखाबाट साइबर व्यूरोमा सरुवा भएका हवल्दार शाहकै पूर्व योजनामा सो प्रश्नपत्र बमले चोरेको स्पष्ट भएपछि अहिले ३० भन्दा बढी प्रहरी अधिकारीहरु छानबिनमा परेका छन् । एसपी अनुप शमशेर राणाको कार्यकक्षबाट बमले चोरेर शाहलाई दिएको स्वीकारेका छन् । यसबारे अहिले डीआइजी वसन्त लामाको समितिले छानबिन गरिरहेको छ ।

बम र शाह दुवै जना नियन्त्रणमा छन् । भर्खरै सईबाट इन्स्पेक्टरमा बढुवा भएका जनक शाहले भने सो प्रश्न पत्र आफ्नो ज्वाई र सालोलाई पनि दिएका थिए । हवल्दार शाहले भनेपछि बमले परीक्षाको दुई दिन पहिले राति ८ बजे प्रश्नपत्र फोटोकपी गरेको खुलेको छ ।

यसअघि संलग्नता रहेको आशंका गरिएका यूएन शाखाकै डीएसपी वासुदेब पाठकको भने संलग्नता नरहेको छानबिन समितिले जनाएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीएसपी रुपेश खड्काको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ ।