
जेठ १९, काठमाण्डौ,
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आउँदो आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना बनाउने काम सुरु गरेको बताउनुभएको छ ।
बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्वाङले आउँदो आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै बजेटमा परेका योजनाहरू समयमै सम्पन्न गर्नका लागि आवश्यक प्रक्रिया अहिलेदेखि नै सुरु भइसकेको बताउनुभयो ।
बजेटले राष्ट्रिय महत्त्वका र राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनालाई समेटेको भन्दै उहाँले तिनको काम समयमै सम्पन्न गर्नका लागि कार्यान्वयनका लागि कार्यतालिका बनाएर अर्थ मन्त्रालयमा पेस गरिसकेको पनि जानकारी दिनुभयो ।
आउँदो आर्थिक वर्षको बजेटले पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण करिडोर, रेल, मेट्रो रेल, सुरुङ मार्ग, फ्लाइ ओभर लगायतका महत्त्वपूर्ण आयोजनालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।