शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम

nepsee

जेठ १६, काठमाण्डौ,

शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आईतबार एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो ।

यसअघि पौने १५ अर्ब रुपैयाँ कारोबार भएर रेकर्ड कायम राखेकोमा त्यो रेकर्ड तोड्दै आज १७ अर्ब दुई करोड रुपैयाँ बराबरको चार करोड २६ लाख कित्ता शेयर किनबेच भएको हो ।

यस्तै आज नेप्से परिसूचक पनि साढे १२ अङ्कले बढेको छ । परिसूचक १२ दशमलव ५४ अङ्कले बढेर २८२७ दशमलव ०३ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज व्यापार, उत्पादन, माइक्रोफाइनान्स, लगानी र अरू समूहबाहेकका समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक दुई सय ५५ दशमलव २५ अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ४७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।