नयाँ अध्यादेश प्रभाव : दुई पार्टि फुटे

kp-oli-madhav-Nepal 11

भदौ २, काठमाण्डौ,

नेकपा एमालेमा अध्यक्ष केपी ओली र नेता माधव नेपालबीचको कटूता अन्ततः पार्टी विभाजनमा पुगेर टुंगिने भएको छ । यसैगरी जनता समाजवादी पार्टीका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबीचको झगडा पनि अलग दल बनेर थान्को लाग्ने भएको हो ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।

नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताउनुभयो । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहनु भएको छ ।

यता जसपा नेपालको महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको लागि निवदेन दिएको नेता चन्दा चौधरीले जानकारी दिनुभयो । ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ ।

यसैबिच
नयाँ पार्टीको रुपमा दर्ताका लागि निवेदन भएको एमाले समाजवादीको निर्वाचन चिह्न खुल्ला किताब यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको पाइएको छ ।

निर्वाचन आयोगमा उन्नत लोकतान्त्रिक पार्टीको निर्वाचन चिह्न खुल्ला किताब रहेको छ । राजनीकि दल सम्बन्धी ऐनमा अर्को पार्टीसँग मिल्ने चुनाव चिह्न उपलब्ध नगराइने उल्लेख छ । दल सम्बन्धी ऐनको यो व्यवस्थाले खुल्ला किताब चुनाव चिह्न माधवकुमार नेपालको पार्टीले नपाउने भएको छ ।