नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा

nnn

जेठ १४, काठमाण्डौ

नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।

शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१÷०७२ को महाभूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि यो उच्च भएको जनाइएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो दुई दशकमै पहिलो पटक देशको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले स्वास्थ्य सङ्कटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४ दशमलव शून्य १ प्रतिशत रहने अनुमान गरिएको भए पनि चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड–१९ को दोस्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।

आर्थिक सर्वेक्षण २०७८ मा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव ८ प्रतिशतले वृद्धि भइ अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान गरिएको छ ।

त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भइ अमेरिकी डलर ११ सय ९६ पुगेको अनुमान गरिएको छ ।