पोखरा सहित विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा/पानीमा डुबेर ३ बालकको मृत्यु

rain-fall

साउन २, पोखरा,

मनसुनी वायुको प्रभावले पोखरा सहित गण्डकी प्रदेशका धेरै स्थानहरुमा गएराति देखि नै निरन्तर भारी वर्षा भैरहेको छ ।

साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी सहित सुदुरपश्चिम, लुम्बिनी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबिच धनुषामा एकै परिवारका दुई तथा महोत्तरीमा १ बालकको पानीमा डुबेर मृत्यु भएको छ ।

धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको धनुषाको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश कापर र दिपु कापरका छ वर्षीय छोरा आशिकको मृत्यु भएको हो । दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

त्यस्तै महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर अर्का एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर–५ बस्ने चार वर्षीय आरुष कापर आफ्नै घरदेखि एक किमि पश्चिममा रहेको पोखरीमा डुबेर मृत्यु भएको हो ।

बालक डुबेको खबर पाएपछि प्रहरी चौकी पर्सापतैली र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी गएर बालकको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल जलेश्वर पठाइएकोमा उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।