गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव, विपक्षी दलहरु असहमत

Prithivi-subba-gurung

जेठ २२, पोखरा,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्तावअघि सार्नुभएको छ । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतले वैशाख २७ गते गुरुङले मुख्यमन्त्रीको सपथ लिनुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

शनिबार गण्डकी प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकमा सोही अनुसार उक्त प्रस्ताव आएको हो । मुख्यमन्त्रीले आउँदो जेठ २७ गते विश्वासको मत लिने गुरुङको तर्फबाट सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रस्ताव गर्नुभएको हो ।

तर विपक्षीहरुले सरकारको प्रस्ताव असहमति जनाएका छन् । मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने विपक्षी दलहरुको अडान रहेको छ ।

कार्यव्यवस्था समितिमा सभा संचालनबारे सहमति नजुटेपछि आइतबारसम्म स्थगित भएको सभा कहिले चल्छ भन्ने निर्क्योल पनि हुन सकेको छैन । शुक्रबार अर्थमन्त्री किरण गुरुङ बोलेपछि विपक्षीको विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा आइतबारसम्मको लागि स्थगित गर्नुभएको थियो ।

गण्डकी प्रदेश सभामा अहिले विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । सदनमा विपक्षीहरुले सिद्धान्त र प्राथमिकताबारे सुझाव नदिइ अल्पमतको सरकारले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।