प्रतिनिधि सभाको आजको बैठकमा एमालेका सांसद सरकारमाथि खनिए

साउन १९, काठमाण्डौ,

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । भारत सरकारका विरुद्ध बोल्न नसकेको, कम्फर्टेबल भएको भन्दै निन्दा गरेका छन् ।

सरकारले दार्चुला घटनामा छानबिन समितिको निष्कर्ष आउनुअघि धारणा सार्वजनिक उचित नहुने बताइरहेका बेला सांसदहरूले सरकारले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने आवाज उठेको छ ।

त्यसैगरी सत्तारुढ दलका सांसदले पनि समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् ।

सांसद विमला नेपालीले तीन वर्ष अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने घोषणा गरेको भए पनि अहिलेसम्म विस्थापित हुन नसकेको भन्दै नेताहरूले सक्ने कामबारे मात्रै बोल्न सुझाउनुभएको छ । उहाँले नेताले नागरिकलाई झुक्याउन नहुनेमा सचेत गराउनुभएको छ ।

सांसद भरतकुमार साहले राज्य व्यवस्था समितिबाट पास भएर संसदमा आएको नागरिकतासम्बन्धी विधेयकलाई संसदबाट छिट्टै पास गराउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सवारी साधनको लाइसेन्स परीक्षा नखुलेको भन्दै त्यसलाई पनि खुलाउनुपर्नेमा जोड दिनुभएको छ ।

सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्य÷तथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरीह भएको उहाँको टिप्पणी छ ।

सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार चल्ने जस्तो नदेखिएको पनि बताउनुभयो । सांसद मीनबहादुर विश्वकर्माले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो ।