कास्कीका २ सय ६९ सहित देशभर थप ३ हजार २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि

corona

भदौ १, कास्की,

मंगलबार गण्डकी प्रदेशका थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ६८ जनामा गरिएको नमुना परीक्षणमा थप ५४५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका २ सय ६९ जना सहित स्याङ्गजाका ६७ जना, तनहुँका ५६ जना, गोरखाका ५४ जना, नवलपुरका ४३ जना, बागलुङका २४ जना, लमजुङका १८ जना, म्याग्दीका १२ जना र पर्वतका २ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७६ हजार ८८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६९ हजार ६६० पुगेको छ ।

यस्तै मंगलबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की सहित नवलपुर, तनहुँ र स्याङ्गजाका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२०६ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच

देशभर थप ३ हजार २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १७ हजार ६ सय ८९ जनाको नमुना परीक्षण गर्दा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा परीक्षणको १८ दशमलव पाँच प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार नौ सय २९ जना निको हुँदा यही अवधिमा थप २७ जनाको सङ्क्रमणका कारण ज्यान गएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ५४ पुगेको छ ।

अहिले नेपालमा ३९ हजार आठ सय ७१ जना सक्रिय सङ्क्रमति छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९० जनाको आईसीयू र एक सय ९१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।