अहिलेसम्म जम्मा २५ लाख नेपालीले कोरोनाको खोप लाए

vaccine

जेठ १, काठमाण्डौ,

अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र नेपालमा २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएको मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो । अहिले सरकारसँग मौज्दातमा ७ लाख डोज खोप रहेको र भेरोसेल खोप लगाउन शुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

गएको चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई काठमाण्डौ र ललितपुर महानगरले भोलिदेखि दोस्रो डोज लगाउन सुरु गर्दैछन् ।

सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामाग्री तीन महिनालाई पुग्ने मौज्दात रहेको भन्दै थप उपचारका सामाग्री सहयोगका लागि बिभिन्न निकाय तथा दाताहरुसँग पत्राचार गरिएको बताउनुभयो ।