बैशाख २०, कास्की,
गण्डकी प्रदेशको कास्की जिल्ला सहित स्याङ्जा र बाग्लुङमा पनि वैशाख २१ गते मंगलबार अर्थात भोलि देखि पूर्ण लकडाउन हुने भएको छ ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको छुट्टा–छुट्टै बैठकले उक्त निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीहरुले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
लकडाउनमा तरकारी तथा फलफूल, खाद्यान्न, औषधिलगायतका पसल खुले पनि अन्य बजार पसल बन्द हुनेछन् । यस्तै, सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने लकडाउन सम्बन्धी आदेशमा उल्लेख छ ।
मंगलबारदेखि लागू हुने गरी जारी भएको लकडाउन कास्की र बाग्लुङमा ३१ गतेसम्म रहनेछ भने स्याङ्जामा ३० गतेसम्म हुने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
कास्कीमा यसअघि जोरबिजोरका आधारमा सवारी साधन चल्न दिने गरी वैशाख १५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई कडाइ पार्दै महिनाभरिका लागि लम्ब्याइएको हो ।
२१ गते अर्थात भोलि विहान ५ बजेदेखि अत्यावश्यक र सरकारी सवारी साधनहरुबाहेकका कास्की जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरू पनि सञ्चालन गर्न नपाइने निर्णय गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।