राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि उजुरी लाग्दैन, बजेटपनि अध्यादेश मार्फत ल्याउँछौँ :- प्रधानमन्त्री

oli

जेठ ९, काठमाण्डौ,

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताउनुभएको छ ।

आइतवार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उहाँले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताउनुभएको हो ।

राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै उहाँले जति जनाले मुद्दा राखे पनि त्यसको अर्थ नरहने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति देउवाले आफू प्रधानमन्त्री बन्न अरू दलका सांसदको र्किते हस्ताक्षर गरेर लगेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । उहाँले भन्नुभयो, र्किते नाम लिएर राष्ट्रपतिकोमा जानु, प्रधानमन्त्री बन्नका लागि अरू पार्टी बागी विद्रोही सिर्जना गर्नु । नेकपा एमालेका केही मानिसलाई उकासेर । धेरैले आफूले हस्ताक्षर नगरेको भनेर विज्ञप्ति निकालेका छन् । लोकतन्त्र भनेको अनुशासित प्रणाली हो । अराजकता होइन । अनुशासनहिनता होइन । जसपाबाट ३२ जना सांसद भएको ठाउँमा १२ जनालाई हस्ताक्षर गराएर, पार्टी अनुशासन तोडाएर, विभिन्न खालका अनुचित हत्कण्डा प्रयोग गरेर । यो परिपाटी बसाउँदै जाने हो भने हामी कहाँ पुग्छौँ ?

उहाँले संसदीय गणितमा फोहोरी खेल भएको र सांसद किन्ने र बिक्री हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफू भने संसद् विघटन नहोस् भनेर जसपाको र आफ्नो (नेकपा एमालेको) पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको बताउनुभयो ।

वैकल्पिक सरकारका लागि कहीँ कतै अवरोध नभएको र दुवै पक्षले तोकिएको समयमा आफ्नो दाबी गरेको भन्दै उहाँले समयलाई लिएर आलोचना गर्नु आलोचनाका लागि आलोचना मात्रै भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जी हस्ताक्षर लिएर, दूषित अभ्यास गरी, दूषित कागज राष्ट्रपति कार्यालयमा बुझाएको टिप्पणी गर्नुभयो ।

आफूले मैले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले पनि लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रति पनि विश्वास नगर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उनीहरूले कन्फ्युजन सिर्जना गरेकाले आफ्नो दाबीलाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उहाँको तर्क थियो ।
यसैबिच एक फरक प्रसंगमा प्रधानमन्त्री ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताउनुभएको छ । सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर बजेट नआउने प्रधानमन्त्रीको दाबि रहेको छ । आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो ।