केपी ओलीको कदमविरुद्ध डटेर सङ्घर्ष गर्न एमालेको खनाल–नेपाल समूहका १५ नेताको अपिल

jalanath-madhab

जेठ १२, काठमाण्डौ,

नेकपा एमालेको खनाल–नेपाल समूहका १५ जना नेताले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको कदमविरुद्ध एकता र सहकार्यसहित सङ्घर्ष गर्न अपिल गरेका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, योगेश भट्टराईलगायतले संयुक्त विज्ञप्ति निकालेर ओलीको स्वेच्छाचारी, निरङ्कुश र प्रतिगमनकारी कदमविरुद्ध सबै वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध सङ्घर्ष र सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।

उनीहरूले राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा एक हुने बेला आएको समेत बताएका छन् । नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडो उल्लङ्घन गर्दै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरी स्वयम् अवैध अध्यक्ष बन्नुभएका ओलीबाट एकपछि अर्को स्वेच्छाचारी काम भइरहेको नेताहरूको भनाइ छ ।

केही समयअघि गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्ण पाठ नआउँदै फेरि प्रतिनिधि सभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएकाले त्यसको विरोधमा आवाज उठाउनु सबैको कर्तव्य भएको उनीहरूले संयुक्त विज्ञप्तिमार्फत भनेका छन् ।