गण्डकीमा कांग्रेस नेतृत्वको सरकार बन्न कठिन

congress

बैशाख १८, कास्की

जनमोर्चाका सांसदले हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्न कठिन हुने देखिएको छ । दलको आज बसेको बैठकमा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्ने बताउनुभएको हो ।

’उहाँले हस्ताक्षर नगर्ने अडान लिनुभयो । पार्टीको निर्णय नमानेकोमा के गर्ने पार्टीले पछि निर्णय लिन्छ,’ जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले भन्नुभयो, ’एक जना सांसद हस्ताक्षरको पक्षमा नरहेको कांग्रेस माओवादीलाई जानकारी दिइसक्यौं ।’

यससँगै ठूलो दलको हैसियतमा एमालेकै सरकार बनेर पृथ्वी सुब्बा गुरुङ नै पुनः मुख्यमन्त्री बन्न सक्ने सम्भावना देखिएको छ ।

तर, हस्ताक्षर गर्न नमानेका सांसद थापालाई जनमोर्चाले कारबाही गरेर गठबन्धनकै सरकार बनाउन सक्छ । विपक्षी गठबन्धनका लागि यो अन्तिम विकल्प हुने देखिन्छ । थापालाई कारबाही गर्दा बहुमतका लागि आवश्यक संख्या ३० हुन्छ । त्यो बेला विपक्षीको बहुमत पुग्छ । यसका लागि विपक्षी गठबन्धनसँग भोलि ४ बजेसम्मको समय छ ।

यसैबिच जनमोर्चाको संसदीय नेता कृष्ण थापाले काँग्रेस नेतृत्वको सरकारको पक्षमा हस्ताक्षर नगर्ने बताएपछि काँग्रेससहितका बिपक्षी दललाई जनमोर्चाले ह्विप उलङ्गन गर्ने सांसदलाई कारबाहि गर्ने आस बाँकी रहेको छ । ‘जनमोर्चाले ह्विप उलङ्गन गर्ने सांसदलाई कारबाहि गर्ने बारेमा हामी ढुक्क छौँ ’ माओबादीका एक सांसदले बताउनुभयो ।

जनमोर्चाको सचेतक पियारी थापाले पनि ह्विप नमान्ने सांसद पार्टीले कारबाहि गर्नसक्ने बताईन भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पनि पार्टी अनुशासन नमान्नेलाई कारबाहि गर्ने बताउनुभएको छ । तर कारबाहि गर्न ढिला भएको खण्डमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार बन्ने निश्चित देखिन्छ ।