
साउन १४, काठमाण्डौ,
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी
विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर बढाई २५० पुर्याउने लक्ष्य राखेकामा हाल यो सङ्ख्या २३५ पुगिसकेको थाहा पाउँदा खुशी लागेको र बाँकी समयावधिमा तोकिएको लक्ष्य पूर्णरूपमा हासिल हुने विश्वास व्यक्त गर्नुभयो।
बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । सो मञ्च विश्वको पहिलो बाघ सम्मेलन थियो । रुसका तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको हो ।
त्यस यतादेखि हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिवस मनाइन्छ ।