
साउन २५, काठमाण्डौ,
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले सत्तारुढ गठबन्धनले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम देशमा अराजकता सिर्जना गर्ने गरी ल्याएको बताउनुभएको छ ।
सत्तारुढ गठबन्धनले ल्याएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको सम्बन्धमा आज सोमवार कुरा गर्दै पूर्वउपाध्यक्ष डा. कँडेलले यो कार्यक्रम देशमा अराजकता सिर्जना गर्ने गरी आएको बताउनुभएको हो ।
तीन तहको सरकार सञ्चालनको सन्दर्भमा देखिएका कमी, कमजोरीलाई स्पष्ट रूपमा पहिचान गरी सम्बन्धित समस्याको समाधान खोज्नुपर्नेमा कार्यक्रमले सङ्घीय सरकारका विरुद्धमा पूर्वाग्रह राखेको बताउनुभयो ।
प्रदेश सरकार सञ्चालनका समस्या पहिचान नगरि सङ्घीय सरकारको कारण नै प्रदेश सरकारले काम गर्न नसकेको देखाइएको उहाँले बताउनुभयो । साझा न्यूनतम कार्यक्रमले विकास निर्माणका काममा राज्यको भूमिकालाई न्यूनीकरण गरेको पनि आयोगका पूर्वउपाध्यक्ष कँडेलले उल्लेख गर्नुभयो ।
सन् २०२६ सम्ममा नेपाललाई अल्पविकसित देशबाट विकासशील देशमा लैजाने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले यस सम्बन्धमा रणनीतिक तयारी गर्ने जिम्मेवारी रहे पनि यस विषयलाई नसमेटिएको उहाँले बताउनुभयो । त्यसैगरी दिगो विकासका लक्ष्यका विषय पनि समावेश नभएको पूर्वउपाध्यक्ष कँडेलको भनाइ छ ।