गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा छिट्टै नै विश्वासको मत लिने तयारी

krishna chandra chayen

असार २, पोखरा,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । नवनियुक्त मुख्यमन्त्री पोखरेलले आउँदो असार ४ गते शुक्रबार विश्वासको मत लिने बारे संसद सचिवालयमा सूचना दर्ता गराएर संसदलाई जानकारी समेत गराउनुभएको छ ।
संविधानको धारा १६८ (५) अनुसार शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था रहेकोमा प्रदेशमा मन्त्रालय विभाजनमा देखिएको अन्यौलता हटाउन विश्वासको मत छिटै लिन लागिएको बताइएको छ ।

विश्वासको मत लिएपछि मात्रै बर्तमान मन्त्रीहरुको कार्यविभाजन र मन्त्रीपरिषद् थप विस्तार गर्ने योजनामा मुख्यमन्त्री पोखरेल रहनुभएको बताईएको छ । बुधबार संसद सचिवालयमा सूचना दर्ता भएकोले आउँदो ४ गते वा त्यसपछि मात्रै विश्वासको मत लिन मिल्ने छ । विश्वासको मत लिनुभन्दा दुई दिन अघि सरकारले संसदलाई जानकारी दिनुपर्ने व्यवस्था रहेको छ ।

सरकारले विश्वासको मत लिनु अघि नै नीति तथा कार्यक्रम पारित गरि बजेट पेस गरेको छ । विश्वासको मत लिएपछि मात्रै बजेटमाथी थप छलफल प्रारम्भ गरिने भएको छ ।