गण्डकी प्रदेशको विशेष अधिवेशन अन्यौलमै, आजपनि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

gandaki Pradesh

बैशाख २३, कास्की,

अनिश्चीतकालकालागि भनेर स्थगित भएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बैठक कहिले बस्ने भन्ने विषयमा अन्यौलता कायमै रहेको छ ।
स्थगित संसद् बैठक पुनः सञ्चालन गर्न दलहरूबीच सहमति नजुटिरहेका बेला बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङंलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । यसले पनि विशेष अधिवेशन पुनः सुरु हुने–नहुने अन्योल अझै कायमै रहेको हो ।

प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आजपनि छलफलकालागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । एमालेले सभामुखको कदम संविधानविपरीत भन्दै लगातार विरोध गर्दै आएको छ ।

यसअघि मंगलबारको बैठकमा मुख्यमन्त्री गुरुङले सभामुखको कदम असंवैधानिक भएको भन्दै माफी माग्नुपर्ने भन्दै वैशाख ३१ सम्म कास्कीमा लकडाउन भएकाले जेठ १ मा संसद् सुरु गर्ने र २ गते मतदान गर्ने प्रस्ताव राख्नुभएको थियो । तर कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) ले १–२ दिनमै बैठक बोलाउनुपर्ने अडान लिएका थिए । आज बस्न लागेको समितिको बैठकले पनि कुनै निकास दिने संकेत नपाएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताउन्ुभएको छ । अहिलेको असहज परिस्थितिलाई राजनीतिक दलबीचकै बहस छलफलले सुल्झाउनुपर्ने उहाँको भनाई रहेको छ ।