पोखरामा पहिलो पटक खेलकुद विषयको अध्यापन हुने

gandaki

साउन २९, कास्की,

खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो ।

विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ । यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ ।

प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो ।

देशमै पहिलोपटक स्नातक तहमा बिएसएमको चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटाले बताउनुभयो ।