जसपा अब उपेन्द्र यादव पक्षको

upendramahant

साउन ११, काठमाण्डौ,

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि आज सोमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा र १६ जनाले महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका आयोगले जनाएको छ । सनाखतकै लागि जेलबाट निर्वाचन आयोग लगिएका जसपा कार्यकारिणी सदस्य रेसम चौधरी भने तटस्थ बस्नुभएको छ ।

अब महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्नेछ । तर त्यसका लागि ठाकुर पक्षले ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्यको समर्थन पाउनुपर्नेछ ।

जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पु¥याउन सक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ ।

निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ । पार्टीका बाँकी सदस्यले आत्मालोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो ।

जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका नागरिकका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेशका मुद्दा र अधिकारका लागि नागरिकको साथ लिएर अघि बढ्ने बताउनुभयो ।