एमालेको खनाल नेपाल पक्षले देशभरका वडा र टोलमा पनि सङ्गठन बनाउने

jalanath-madhab

जेठ २३, काठमाण्डौ,

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका नाममा षड्यन्त्र गर्दै गएको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरेको छ ।

भर्चुअल माध्यमबाट बसेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले ओलीले एकातिर पार्टी एकता भन्ने र अर्कोतिर नेताहरूलाई कारबाही गर्दै जाने तथा सरकारमा बसेर मनपरी र निरङ्कुश कामलाई निरन्तरता दिने काम भइरहेको भन्दै उहाँका कुरा पत्याउनै नसकिने निष्कर्ष निकालेको हो ।

आफूहरूले एकताको अनेकौँ प्रयास गर्दा पनि ओलीले कमजोरी ठानेर झन् पेल्दै लगेको र अन्तिममा पार्टी विभाजनको सङ्घारमा पु¥याएको भन्दै नेपाल समूहले ओलीको चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गरेको छ ।

क्रान्तिकारी पार्टी पङ्क्तिको रक्षा र विकासका लागि केपी ओली पक्षमा रहेका इमानदार नेता र कार्यकर्तालगायत नेकपा (एमाले) पङ्क्तिलाई आह्वान गर्दै नेपाल समूहले नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने जनाएको छ ।

देशव्यापी रूपमा सङ्गठनलाई वडा र टोलसम्म अगाडि बढाउनुपर्ने नेपाल समूहको निष्कर्ष छ । यदि ओलीले एकता नै चाहेको भए पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने, केन्द्रदेखि पालिकासम्म भएका कारबाही र स्पष्टीकरण फिर्ता लिनुपर्ने, प्रतिनिधि सभा विघटन गलत भने भनेर आत्मालोचना गर्नुपर्ने, संविधान र लोकतन्त्र मास्ने नियतका साथ भइरहेका काम बन्द गर्नुपर्ने लगायतका काम गर्नुपर्ने नेपाल समूहको भनाइ रहेको छ ।