अरुण गिरीः विचार र व्यवहारमा प्रष्ट

पोखरा, ३० कात्तिक । देशको अवस्था ठिकठाक चलेको भए, शायद अरुण गिरी अहिलेको चुनावमा पनि आम मतदाता मात्र हुन्थे । चुनावको रिपोर्टिङ गरिरहेका हुन्थे । मिडियासँग सम्बन्धित विभिन्न विधामा पोख्त अरुण गिरीको दैनिकी आफ्नै काममा बित्थ्यो । आफ्नो रोजीरोटी चलेकै थियो । केही आफूजस्तै युवाहरुलाई रोजगारी दिएका थिए । सबैकुरा राम्रै थियो ।

तर काम गरिरहँदा र दैनिकी चलाईरहँदा उनको मनमा सँधै खड्किने सवाल चाहीँ एउटै थियो, ‘यो देश सिस्टममा किन चलेन ?’

आफूले जानेको र गर्दै आएको आफ्नै क्षेत्रको काम पाउनका लागि पनि ठुलै भनसुन गर्नुपर्ने । काम पाएपछि काम मिलाउनेलाई कमिशन दिनुपर्ने । तै पनि समयमा काम गरेबापतको पैसा नपाउने । जब पछिल्लो समय राज्यको विभिन्न निकायसँग जोडिएर अरुणले आफ्नो व्यवसायिक काम गर्न थाले, तब उनलाई काम गर्न झन् बढि हम्मे हम्मे पर्न थाल्यो । सबै कुरा सिस्टममा हुनुपर्छ अनि मात्रै देश भ्रष्टाचारमुक्त हुन्छ भन्ने मान्यता राख्ने अरुणको व्यक्तिगत स्वभावले गर्दा नै होला, यस्ता धेरै कामबाट उनले हात धुन परेको थुप्रै उदाहरण छन् ।

उनलाई सँधै लाग्ग्थ्यो, ‘देशमा यस्तो अवस्था आउनु र स्थानीयस्तरमा लगानी गरेर व्यवसाय गर्न भन्दा विदेश जानका लागि युवाहरु मरिहत्ते गर्नुको मूख्य कारण भनेकै नेपालको राजनीति हो ।’ साथीभाईसँगको चियागफको क्रममा नेपालका राजनीतिक दल र तिनका नेतालाई अरुणले धेरै चोटी सरापेका छन् । अरुणलाई लाग्छ, यो देशमा सही मानिसले सही ठाऊँ पाएकै छैनन् । सक्षम र सबल मानिसले सही ठाऊँ पाएको खण्डमा पक्कै पनि राम्रै गर्छ ।

व्यवस्थापकीय अनुभव र ज्ञान भएका अरुणलाई लाग्यो, यसका लागि म आफैँले एउटा प्रयत्न किन नगर्ने ?

पछिल्लो समय उनी मिडियामा सक्रिय हुनुका साथै मिडियासँगै सम्बन्धित संघसंस्थाको नेतृत्वमा पनि सक्रिय रहे । राजनीतिमा लाग्न भन्दा अगाडि उनी चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको अध्यक्ष थिए । त्यहाँ पनि उनी नेतृत्वमा खरो रुपमा उत्रिए। चलचित्रसंग सम्बन्धित थुप्रै कार्यक्रमहरु गरे । पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि उनले चालेका र गरेका क्रियाकलापहरुको पत्रकारिता र चलचित्रवृत्तमा सँधै चर्चा हुने गर्छ ।

राजनीतिसँग कुनै आईनोसाईनो नभएका अरुणले आफ्नो विचारसँग मिल्ने पार्टी खोज्न थाले । हेर्दै जाँदा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको विचारसँग आफूलाई सबैभन्दा नजिक पाए । भर्खरै राजेन्द्र लिङ्देनको नेतृत्व पाएको राप्रपाले उनलाई सहजै स्विकार गर्यो । पार्टीलाई उनले आफ्नो कार्ययोजना सुनाए । राजनीतिमा आउनुको कारण बताए । उर्जावान र व्यवहारमा प्रस्ट गिरीलाई पार्टीले पत्यायो । उनलाई तत्कालै राप्रपा कास्कीको प्रवक्ताको रुपमा पार्टीले नियुक्त गरिहाल्यो । करिब ५ महिनाको बीचमा राप्रपा कास्कीका गतिविधिहरुलाई उनले यस क्षेत्रमा राम्रैसँग जनतामाझ पुर्याए । शायदै मिडियामा आउने राप्रपाका सूचनाहरुलाई यहाँका प्राय जसो मिडियामा ल्याएर उनले पार्टीको छविलाई मिडियामैत्री बनाए ।

पार्टीको जिल्ला, प्रदेश सँगै केन्द्रीय कमिटिले पनि अरुणको सक्रियतालाई राम्रैसँग अवलोकन गरिरहेको थियो शायद । त्यसैले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उनलाई प्रदेशतर्फ कास्की क्षेत्र नम्बर २ २ का लागि उम्मेदवार बनायो । छोटो समयमै राप्रपा कास्कीमा गज्जबको लोकप्रियता बनाईसकेका अरुण गिरी अब सिस्टम बनाउने ठाऊँमा पुग्ने तरखरमा छन् । केही फड्कोमै ठुलो छलाङ मार्न सफल अरुण अहिले प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनका लागि मतदाताहरुसमक्ष राप्रपाका पक्षमा मत माग्दै हिडिरहेका छन् ।

अनि घरदैलो

अरुण गिरी यतिबेला आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा पुगेर घरदैलो गरिरहेका छन् । आफ्नो क्षेत्रका मतदाताहरुलाई भेटेर आफ्नो पक्षमा मत मागिरहँदा उनलाई निकै ठुलो हौसला मिलेको छ । जुन घरमा जान्छन्, राप्रपाले उठाएको राष्ट्रबादी एजेन्डा र मत माग्दै आईपुग्ने युवा उम्मेदवारलाई देखेर मतदाताहरु उत्साहित देखिन्छन् । आफ्नै भनिएका दल र तिनका निर्वाचित नेताहरुले अहिलेसम्म जनताको काम गर्न नसकेको भन्दै मतदाताहरुले यो पटक राप्रपालाई नै मत हाल्ने वचन दिन्छन् ।

राप्रपाको नेतृत्वमा रहेका राजेन्द्र लिङ्देनले विभिन्न भाषणहरुमा भन्दै आएको भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने भनाई सबैलाई कण्ठै छ । राप्रपाको नयाँ नेतृत्वप्रति जनताले ठुलो आशा अनि भरोषा गरेका छन् । त्यसैमाथि अरुण गिरी जस्तो युवा अनि जोशले भरिएको उम्मेदवार देखेपछि मतदाताहरु पनि उत्साहित हुन्छन् । अरुण भन्छन् -‘जनताले हाम्रो पार्टी र म प्रति देखाएको यो सदाशयताले म आफैँलाई पनि अचम्मित बनाएको छ । साँच्चै नै जनताले म प्रति देखाएको आशा र भरोसाले अझै बढि जिम्मेबार महशुस गराएको छ ।’

घरदैलोमा पुगिरहँदा पार्टीको केन्द्रीय एजेन्डा त छदै छन्, अरुण गिरीले पनि आफ्नै व्यक्तिगत एजेन्डाहरु मतदातामाझ लगेका छन् । विभिन्न २४ बुंदे स्थानीय एजेन्डाहरुसहित जनतामाझ गएका गिरीले नीतिगत रुपमा आफू निर्वाचित भएपछि गर्ने कुराहरुको ब्लुप्रिन्ट नै आफूसँग भएको दाबी गर्छन् । सुशासनका लागि आवश्यक नीति, विकासका लागि आवश्यक नीति, युवा तथा स्वरोजगारीका लागि आवश्यक नीति बनाउने एजेन्डाहरु गिरीको प्राथमिकतामा परेका छन् । त्यो बाहेक धार्मिक, साँस्कृतिक र पर्यटकीय सम्भावनाको खोजीसँगै मौलिक विकासको सवाललाई उनले बलियो गरि उठाएका छन् ।

उनले घरदैलोमा आफ्ना योजना र एजेन्डाहरुको बारेमा मतदाताहरुमाझ प्रस्ट पार्दै हिँडिरहेका छन् । मतदाताले उनको यो शैलीलाई रुचाएका छन् र साथ दिने वाचा पनि गरेका छन् ।

मिसन १४,५३१

मतदाताको ठुलो समर्थन र साथ पाईरहेका अरुण गिरीले यतिबेला मिशन १४,५३१ सार्वजनिक गरेका छन् । यो भनेको उनले चुनावमा पाउने मतको संख्या हो । र, यो उनले विभिन्न खाले रिसर्चमार्फत तयार पारेका हुन् ।

कास्की क्षेत्र नम्बर २ २ मा राप्रपाका लागि अरुणले यो मत संख्या पुर्याउने लक्ष्य लिएका छन् ।

यो निर्वाचन क्षेत्रमा कुल ३६ हजार ८ सय ५६ मतदाता छन् । त्यसो त राप्रपाको सक्रिय कार्यकर्ताको संख्या यो क्षेत्रमा निकै कम छ । राप्रपाको आफ्नै आधार हेर्ने हो भने अरुण आफ्नो लक्ष्यका लागि महत्वकांक्षी लाग्छन् । तर उनी आफ्नो लक्ष्य नजिक पुगिसकेको तर्क गर्छन् ।

अरुण भन्छन् -‘काँग्रेस र एमालेको कुरा गर्ने हो भने पनि यस क्षेत्रको सबै मतदाता सबै उनीहरुको कार्यकर्ता त पक्कै होईनन् । काँग्रेसको ७ हजार लिस्टेड कार्यकर्ता होलान् । एमालेको पनि त्यस्तै होलान् । तर कुनै पनि दलको कार्यकर्ता नभएका स्वतन्त्र नागरिकको संख्या नै चुनाव जित्नका लागि निर्णायक हुन्छ । त्यसैले मैले मेरो लक्ष्य प्राप्त गर्न समस्या छैन ।’ उनले देशव्यापी राप्रपाको पक्षमा देखिएको जनलहर र अवस्था परिवर्तनका लागि मत परिवर्तन गर्न तयार जनभावना देखेपछि आफू लक्ष्य नजिक पुगिसकेको दाबी गर्छन् ।