विज्ञापनको भर परेर आँफै औषधि किनेर नखानुस् : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश

hhh

जेठ २५, कास्की,

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आज एक सूचना जारी गर्दै विज्ञापन सुनेको भरमा आँफै बजारबाट औषधि किनेर नखान सर्वसाधरणलाई सचेत गराएको छ ।

कोरोना महामारीका समयमा विभिन्न खालका कोरोना विरुद्धको आयुर्वेदिक औषधि भन्दै विक्री वितरण गरेको सूचनाहरु आएकोले कार्यालयले सर्वसाधरणलाई सचेत गराएको हो ।

आयुर्वेदिक औषधिहरुले कुनै हानी गर्दैन भन्ने गलत धारणा सर्वसाधरणमा रहँदै आएको छ । तर कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै औषधिहरुको प्रयोग गर्न आग्रह गरेको छ ।

निर्देशनालयको सुचनामा कुनै पनि आयुर्वेद औषधि आफै बजारबाट किनेर नखान, सडक गल्लि र चोकहरुमा फिजारेका, झोलामा लिएका, गाडीमा बिज्ञापन बजाउदै हिडेकाहरु सँग औषधि किनेर प्रयोग नगर्न आग्रह गर्दै दर्तावाल आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै आयुर्वेद औषधिहरुको प्रयोग गर्न सुझाव दिएको छ ।

भ्रमात्मक विज्ञापन गरि त्यसरी औषधिहरु बेचेको पाईए जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ (२) साथै औषधि ऐन २०३५, दफा १९ बमोजिम कारबाहि गरिने पनि सुचनामा उल्लेख गरिएको छ ।

साथै कुनै पनि गुनासो या समस्या भएमा वा औषधिवारे जानकारीको लागि स्वास्थ्य निर्देशनालयको हट लाइन नम्बर १०९२ मा सम्पर्क गर्न पनि सुचनामा अनुरोध गरिएको छ ।