कोरोना संक्रमणका कारण कास्कीका ७ जना सहित एकैदिन ५५ जनाको मृत्यु, देशभर थप २ हजार ५ सय ४८ जनामा संक्रमण पुष्टि

corona

साउन २४, कास्की,

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५ सय १० जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय ५ जनामा गरिएको नमुना परीक्षणमा थप ५१० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १६९ जना सहित बागलुङका १२२ जना, स्याङ्गजाका १०३ जना, पर्वतका ५२ जना, गोरखाका २७ जना, तनहुँका १७ जना, नवलपुरका १५ जना, म्याग्दीका ३ जना र लमजुङका दुई जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७२ हजार ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६ सय २५ जना कोरोनामुक्त भएसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६५ हजार १६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामै गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ७ जना र गोरखाका १ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११३६ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा एक्कासि वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको हो । योसँगै हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

निषेधाज्ञाको समयमा सङ्क्रमित घटेसँगै ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको भए पनि केही दिनदेखि अस्पताल भर्ना हुने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

नौ हजार ३३ जनाको पीसीआर र तीन हजार तीन सय ४५ जनाको एन्टिजेन गरी १२ हजार तीन सय ७८ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो समय कुल परीक्षणको साढे २० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो ।

यस्तै आइतबार २ हजार २९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३५ हजार ४ सय ८५ सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।