गण्डकी प्रदेश सरकारलाई अनलाईन पत्रकार संघद्धारा ध्यानाकर्षण पत्र

online press

जेठ २५, कास्की,

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

आज (मंगलबार) प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात तथा आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका रामशरण बस्नेतलाई भेटेर संघका अध्यक्ष कमल सुवेदीले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम मार्फत बजेटमा संचार र पत्रकारिता क्षेत्रका विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।

ध्यानार्कषण पत्रमा अनलाइनहरुको दर्ता तथा नवीकरण लाई थप सहज बनाउन सम्बन्धित जिल्लामा भएको व्यवस्था लाई सहजीकरण गर्न कम्पनी रजिस्ट्रारको कार्यालय सम्बन्धित जिल्लामा नै व्यवस्था गर्ने गरी बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।

अहिलेको अनलाइन र संचार माध्यमको सूचीकरण केन्द्रिय प्रेस काउन्सिलमा गर्नु पर्ने व्यवस्था अव्यवहारिक, झन्झटिलो र संघीयताको मर्म बिपरित भएको हुँदा प्रदेशको कार्यालयमा नै सो को व्यवस्था गर्न ध्यानार्कषण पत्र मार्फत माग गरिएको छ ।

त्यस्तै गण्डकीमा सन्चालित स्वरोजगारमुलक अनलाइन र मिडियाको संरक्षणको लागि विशेष नीति तर्जुमा गर्नसमेत आग्रह गरिएको संघका अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ ।

यस्तै, कोभिड महामारीले समस्यामा परेका पत्रकारहरुको लागि राहत प्रदान गर्नुका साथै गण्डकी प्रदेशभर ६० वर्ष पुगेका वरिष्ठ पत्रकारहरुलाई निवृत्त भत्ताको व्यवस्था गर्न समेत माग गरिएको छ ।

ध्यानार्कषण पत्र बुझ्दै मन्त्री बस्नेतले ध्यानार्कषण पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई अध्ययन गरी आवश्यक मागको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले कोरोना संक्रमण कालिन अवस्था भएकाले सकेसम्म पत्रकार र पत्रकारिताका क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनुभयो ।