विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधन, निधनप्रति कांग्रेस र माओवादिद्धारा दुःख व्यक्त

ujjal

जेठ १८, काठमाण्डौ,

विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधन भएको छ । उहाँको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।

कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । थापालाई श्वासप्रश्वासको समस्या भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । निमोनियाका कारण थापाको फोक्सोमा सङ्क्रमण फैलिएको डाक्टरले बताएका थिए । कोरोना भाइरसको सङ्क्रमण भएपछि उहाँलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यसपछि ह्याम्सबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो ।

गएको शुक्रवार उहाँलाई ग्राण्डीबाट नेपाल मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । मेडिसिटीमा इक्मो प्रविधिबाट उहाँको उपचार भइरहेको थियो । थापालाई चिन्ने प्राय सबैले उहाँको स्वास्थ लाभको कामना गर्दै आएका थिए ।

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्ने उद्देश्य बोक्नुभएका थापा विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक हुनुहुन्थ्यो । उहाँको उपचारका लागि रकम सङ्कलनसमेत भएको थियो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा थापाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
यसैबिच
थापाको निधनप्रति नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको जनाएका छन् ।