एमसीसी सम्झौताबारे सबै जनताले जान्नु जरुरी छ : भीम रावल

Bhim-Rawal

साउन १५, काठमाण्डौ,

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले एमसीसी सम्झौताबारे नेपाली जनताले जान्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार बसेको प्रतिनिसभाको बैठकमा बोल्दै उहाँले एमसीसीको मुल सम्झौता र अन्य सहायक सम्झौताहरूको विषयमा नेपाली जनताले जान्न आवश्यक हुने भएकाले त्यसलाई पहिले प्रतिनिधिसभामा पेश गर्न माग गर्नुभएको छ ।

एमसीसीमा नेपाली जनताको स्वाधिनता र स्वाभिमानमाथि प्रहार भएको बताउँदै रावलले बुँदा–बुँदामा छलफल गर्दै संशोधन गरेर मात्रै त्यसलाई पास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको स्वाधिनता र स्वाभिमान खिलाप हुने कुनै पनि बुँदा र प्रावधान छन्, त्यसलाई संशोधन गर्नुपर्छ ।’

उपाध्यक्ष रावलले विकासको नाममा कम्पनी खडा गरेर आफ्नो भूमि कुनै पनि देशलाई सुम्पन नसकिने अडान दोहो¥याउनुभयो । नेपालमा कुनै पनि देशको लगानी ल्याउन पाइने भए पनि त्यो संविधान र स्वतन्त्र परराष्ट्र नीति अनुसार हुनुपर्ने बताउनुभयो ।