विश्वमा कोरोना सङ्क्रमण पुनः बढ्दै, मृतकको संख्या ४१ लाख भन्दा धेरै पुग्यो

covide world

साउन ४, काठमाण्डौ,

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ ।

कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ६७५ जनाको मृत्यु भएसँगै विश्वमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३५२ पुगेको छ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ६ लाख २४ हजार ७५६ जनाको मृत्यु भएको छ। ब्राजिलमा ५ लाख ४२ हजार २६२, भारतमा ४ लाख १४ हजार १४१, मेक्सिकोमा २ लाख ३६ हजार र पेरुमा १ लाख ९५ हजारको मृत्यु भएको छ।

पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इण्डोनेशिया सरकारले आफ्ना ९५ प्रतिशत स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको दाबी गरेको छ । त्यहाँ गएको २४ घण्टामा ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, बेलायतमा पनि सङ्क्रमण फैलिन थालेको छ । गएको २४ घण्टामा बेलायतमा ५४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।

यस्तै थाइल्याण्डमा पनि सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्यका मापदण्डमा कडाइ गर्दै लकडाउन थपिएको छ । यस्तै, बङ्गलादेशमा पनि सङ्क्रमण फैलिरहेको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण चुनौती बढेको विज्ञले बताएका छन् ।