सभामुख सापकोटाद्धारा प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा काुननविद्हरूसँग छलफल

savamukh

जेठ १३, काठमाण्डौ,

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा काुननविद्हरूसँग छलफल गर्नुभएको छ । सभामुख सापकोटाले बिहीवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रतिनिधि सभा विघटनपछिको अवस्था र सभामुखको भूमिकाको सम्बन्धमा कानुनविद् तथा न्यायिक क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको हो ।

छलफलका क्रममा कानुनविद्हरूले प्रतिनिधि सभा विघटनको सम्बन्धमा आफ्नो धारणा राख्दै सभामुखलाई संविधानअनुसार कदम चाल्न सुझाव दिएका छन् । संविधानविद् चन्द्रकान्त ज्ञवालीले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने भए पनि संसद्प्रति उत्तरदायी नभएको बताउनुभयो । संसद् विघटन गर्नुअघि सभामुखसँग परामर्श लिनुपर्ने संवैधानिक दायित्व भए पनि प्रधानमन्त्रीले संवैधानिक दायित्व पूरा नगरेको उहाँले बताउनुभयो । सभामुखले संविधान र कानुनअनुसार चल्नुपर्ने र संसदमार्फत हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संविधानविद् टीकाराम भट्टराईले संविधानमा सभामुखलाई पनि विशेष अधिकार दिइएको उल्लेख गर्दै त्यही अधिकारको आधारमा संसद् बैठक बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने बताउनुभयो । यसअघि नै सर्वोच्च अदालतले केही व्यक्तिको लहड र सनकमा प्रतिनिधि सभा विघटन गर्न नसकिने फैसला गरिसकेकाले सर्वोच्चको त्यही आदेशअनुसार पनि प्रतिनिधि सभा विघटन हुन नसक्ने बताउनुभयो ।

संविधानविद् भीमार्जुन आचार्यले प्रतिनिधि सभा विघटन हुनुमा स्वयम् प्रतिनिधि सभा र राजनीतिक दलहरू जिम्मेवार रहेको बताउनुभयो । यसअघि नै प्रतिनिधि सभा विघटनपछि पुनर्स्थापना भएपछि संसद् र राजनीतिक दलहरूको भूमिका प्रभावकारी नभएको उहाँको भनाइ छ ।