साउन १०, काठमाण्डौ,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिलाई बेठिक बाटोमा लान खोजिएको बताउनुभएको छ ।
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज आइतवार भर्चुअल सम्बोधन गर्नु हुँदै उहाँले भन्नुभयो, ‘राजनीतिलाई बेठिक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसदबाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले नागरिकमा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टिका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी ध्वस्त बनाएको भन्दै नेपाललाई बिकाउ मालको संज्ञा पनि दिनुभयो ।
पार्टीलाई नमुना बनाइ सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो ‘पार्टीलाई स्वार्थ र बिकाउमा नलगाऔँ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।’
अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप, अपराधको विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर पारेको बताउनुभयो ।
उहाँले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्दै पार्टि एकताकोलागि ति सबैलाई ससम्मान पार्टिमा स्वागत गर्ने बताउनुभएको छ । ओलीले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गर्नुभएको थियो ।